- NSET Election 2024
- 31st NSET Day marked
- Action Planning Workshop for Tomorrow's Khokana held in Lalitpur
- "Action Planning Workshop for Tomorrow's Rapti Valley (Deukhuri) Capital City" Held in Lamahi, Lumbini Province
- Media Interaction held on plan for Tomorrow’s Rapti Valley (Deukhuri) Capital City
- Art Competition on Tomorrow’s Rapti City held in Rapti Valley (Deukhuri) Capital City
- National Tabletop Simulation Exercise by NDRRMA MOHA
- Workshop on Earthquake Hazard Assessment and Aftershock Forecasting was held in Lalitpur
- 26th National Symposium on ‘Earthquake Risk Reduction and Management in Nepal’ held in Kathmandu.
- Mason Training begins in Darjeeling, India
- View all
भवन निर्माण अनुमति प्रक्रिया सम्बन्धी कार्यशाला सम्पन्न
भवन निर्माण अनुमति प्रक्रिया सम्बन्धी कार्यशाला मिति २०७८ साउन २८ र २९ गते सञ्चालन भई सम्पन्न भएको छ । काठमाण्डौमा भएको यस कार्यशाला सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल अन्तर्गत मेरो सुरक्षित गाउँ कार्यक्रमको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।
प्रभावकारी ढङ्गले भवन संहिता र भवन निर्माण अनुमति प्रक्रियालाई कार्यान्वयन गरिरहेका नगरपालिकाहरू मध्येबाट केही नगरपालिका हेटौँडा, भरतपुर, धनगढी र व्यास साथै भवन संहिता कार्यान्वयनको सुरुवाती चरणमा रहेका गाउँपालिकाहरु क्रमशः तामाकोसी, चुरे, कैलारी, बबई, बैजनाथ, सिम्ता र जुम्लाका प्राविधकहरु बिच छलफल र अनुभव आदान प्रदान गर्ने यस कार्यशालाको मुख्य उद्देश्य रहेको थियो । त्यसै गरी कच्ची अर्थात् घ वर्गको घरहरूलाई भवन अनुमति प्रक्रियामा लेराउनको लागि तयार पारिएको दस्ताबेजलाई सूक्ष्म अध्ययन गरी समीक्षा सङ्कलन गर्ने कार्यशालाको अर्को उद्देश्य थियो । साथै भवन निर्माण अनुमति प्रक्रियालाई सहजीकरण गर्न र प्रभावकारी कार्यान्वयन गर्नको निम्ति अहिले सम्म जे जति फारम, चेक लिस्ट र दस्ताबेजहरू तयार भएका छन् ती सबैलाई एक ढिक्का बनाउने अर्थात् संयुक्त रूप दिने कुरामा छलफल चलाउनु पनि यस कार्यशालाको उद्देश्य थियो ।
बहु प्रकोप जोखिम न्यूनीकरण र सुरक्षित भवन निर्माणको लागि अमेरिकी सहायता नियोगको आर्थिक सहयोगमा मेरो सुरक्षित गाउँ कार्यक्रम मार्फत सहकार्य भइरहेका नगरपालिका र गाउँपालिकाहरूबाट १० जना र एनसेट नेपालबाट ५ जना गरी १५ जना प्राविधिकहरू सहभागी भएका थिए ।
कार्यक्रमको समापन सत्रमा सहभागीहरूले कार्यशाला निकै सिकाइमूलक रहेको र कार्यक्रममा सहभागी भए पछि भवन संहिता, भवन अनुमति प्रक्रिया र सम्बन्धित नीति नियम र दस्ताबेजहरूको बारेमा अझ विस्तृत रूपमा बुझ्न मद्दत पुगेको बताए ।
समापन सत्रमा आफ्नो कुरा राख्नुहुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वातावरण तथा विपद् व्यवस्थापन शाखा अधिकृत श्री कृष्ण हुमागाईँले राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार स्थानीय तहमा मापदण्ड तयार गरी कार्यान्वयन गर्न सरकारले परिपत्र जारी गरिसकेकोले सबै स्थानीय निकायले त्यसै बमोजिम कार्य गर्न आग्रह गर्नुभयो । कर्मचारी, स्थानीय तह सबैले यस क्षेत्रमा कसरी राम्रोसँग अगाडि जान सकिन्छ भन्ने कुरामा गम्भीर भएर लागिपर्न आवश्यक रहेको बताउनुभयो । भवन संहिता मूल मन्त्र भएकोले यस मन्त्रको सेरोफेरोमा रहेर नै कामहरु हुनुपर्ने र घ वर्गका घरहरूलाई बलियो बनाउने अभियानलाई सफल पार्नको लागि यस्ता घरहरु बनाउँदा अनिवार्य पालिकामा दर्ता वा नक्सा पास हुनुपर्ने व्यवस्थाको विकास गर्नुपर्ने कुरामा वहाँले जोड दिनुभयो ।
अमेरिकी सहायता नियोग नेपाल प्रतिनिधि श्री सन्तोष ज्ञवालीले भवन संहिता कार्यान्वयनको विषय एकदम महत्त्वपूर्ण र आवश्यक रहेकोले स्थानीय निकायहरूले यसलाई बाहिरी सहयोग प्राप्त नहुँदाको अवस्थामा पनि भवन संहिता कार्यान्वयनलाई निरन्तरता दिन सबै कुरामा पालिका स्वयं सक्षम बन्नुपर्ने बताउनुभयो । साथै नगरपालिकाहरुले मात्र नभई गाउँपालिकाहरूले पनि तदारुकताको साथ काम गर्नुपर्ने आवश्यक देखिएको कुरा आफ्नो मन्तव्य मार्फत व्यक्त गर्नुभयो ।
एनसेट नेपालका कार्यकारी निर्देशक श्री सूर्य नारायण श्रेष्ठले सबै सहभागीहरूलाई बधाई तथा शुभकामना दिँदै “ग्रामीण घरहरू भूकम्पीय सुरक्षित बनाउन सकिँदैन भन्ने आम सोचाइ छ तर राष्ट्रिय भवन संहितामा यस्ता ‘घ’ बर्को घरहरूलाई पनि बलियो बनाउने प्रशस्त व्यवस्थाहरू छन् । त्यो व्यवस्थालाई पालिकाहरूले प्राथमिकतामा राख्नुपर्दछ । पालिकाहरुले भवन अनुमति प्रक्रियालाई राजस्व सङ्कलन भन्दा पनि घरको बलियोपना र सुरक्षाको हिसाबले लैजानु आवश्यक छ’ भन्नुभयो । साथै वहाँले कच्ची घरहरूलाई बैङ्कले ऋण र बिमा कम्पनीले बिमाको व्यवस्था नगरेको हुनाले ती दुवै कुराको लागि घर नै भूकम्प थेग्ने बनाउन सके बैङ्क र बिमा कम्पनीको प्रणालीमा त्यस्ता घरहरुले पनि स्थान पाउन सम्भव हुने कुरा बताउनुभयो । नगरपालिकाहरुको पहलमा एनसेटले सधैं प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको साथै भविष्यमा पनि तयार रहेको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पनि निरन्तर मार्ग निर्देशन र सहयोगको अपेक्षा रहेको बताउनुभयो । मन्तव्यकै क्रममा वहाँले कार्यशालामा समीक्षा भएको दस्ताबेजमा प्राविधिक समीक्षा मात्र भएकोले त्यसलाई अन्तिम रूप दिनको लागि स्थानीय अगुवा साथै घरधनीको तर्फबाट पनि समीक्षा गरी मन्त्रालयमा बुझाउने साथै उक्त दस्ताबेजलाई व्यवहारमा लागु गर्न सकिने गरी त्यस्तै नीति, नियमहरू पनि निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो । समापन सत्रसँगै २ दिने उक्त कार्यशाला सम्पन्न भएको थियो ।